गोरखा २८, बैशाख । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको विभिन्न स्थानबाट ७१ थान सिलिन्डर संकलन गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितहरुका लागि उपचार गर्दा अक्सिजनको अभाव हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र रहेका सबै प्रकारको अक्सिजन सिलिन्डर संकलन गर्न प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले बिभिन्न उद्योग तथा कलकारखनामा रहेको अक्सिजनका सिलिण्डर संकलन गर्न थालेको हो ।
प्रहरीले सोमबार नै जिल्ला भर अभियान सञ्चालन गरेर ग्यारेज, ग्रील उद्योग, क्रसर तथा विभिन्न निकाय तथा उपभोक्ता लगायतसंग अन्य प्रयोजनमा प्रयोग भई रहेका अक्सिजन सिलिण्डरहरु संकलन गर्ने क्रममा जिल्ला भर ७१ थान संकलन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो
अभियान अन्तरर्गत गोरखा बजार, बाह्र किलो क्षेत्र, मझुवा देउराली, आरुघाट, ठाँटीपोखरी, जौबारी तथा जिल्ला भित्रका प्रहरी चौकी रहेको वरपरका उद्योग, कलकारखाना, क्रसर, ग्रिल उद्योग जस्ता ब्यापारीक प्रतिष्ठानबाट ठूलो, मझौला र सानो साईजका, खाली र भरी गरी जम्मा ७१ थान अक्सिजन ग्यास सिलिण्डरहरु संकलन भएको हो ।
संकलनका क्रममा जहाँ जस्तो अवस्थामा सिलिन्डर भेटिएको छ संकलन गर्ने र सिलिन्डर धनीलाई प्रहरीले मुचुल्का सहितको पत्र दिएको दिएको उहाँले बताउनुभयो । महामारीको प्रकोप सकिएपछि सोही अवस्थामा फिर्ता गर्ने शर्त राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
संकलित सबै सिलिन्डर तत्कालै गोरखा अस्पताल वा आइसोलेसन सेन्टरलाई बुझाउने तयारी भई रहेको छ । गोरखा अस्पताल तथा विभिन्न पालिकामा रहेका स्वास्थ्य संस्थाहरुले पनि अवस्था जटिल नहोस भनेर केही थान अक्सिजनका सिलिन्डर खरिद गरेर राखेको स्थानियले पालिकाहरुले जनाएको छ ।गोरखा अस्पतालमा यस अघि नै ५० ठुुला सिलिन्डर तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।