गोरखा, २७ बैशाख गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन बेड नहुदा बिरामीलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता सूरु भएको छ । कोरोना संक्रमण भयावह बन्दा समेत जिल्लामा आइसोलेसन निर्माणमा पर्याप्त पहल गर्न नसक्दा गोरखा अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो । अस्पतालमा रहेको अहिले जम्मा ६ बेड आइसोलेसन रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
‘दुई वटा बेडमा महिला संक्रमित र ४ वटा बेडमा पुरुष संक्रमित भर्ना भएका छन्, उनिहरुसवै अक्सिजन दिनुपर्ने बिरामी हुन्’ उहाँले भन्नुभयो, ‘थप बिरामीलाई आइसोलनमा राखेर उपचार गर्नसक्ने अबस्था छैन । दुई जना कोरोना संक्रमितको आइतबार अक्सिजन दिनुपर्ने अबस्था आएपछि आइसोसनमा भर्ना गरिएको हो ।’ आइसोलेसनमा भर्ना गरिएका बिरामीहरुको ज्वरो आउने, र अक्सिजनको मात्रा घटेको पाइएको छ । अस्पतालमा राखेर उपचार गर्न सक्ने अबस्था नभएपछि अस्पतालले अक्सिजन दिनु नपर्ने बिरामीहरुलाई भने होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाउने गरेको छ ।
दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि अहिलेसम्म गोरखा अस्पतालमा २४ जना संक्रमित उपचार गराउन आएकोमा ६ जना बाहिरी जिल्लाका अस्पतालमा उपचारका लागि रिफर गरिएको र १२ जनामा उपचार पछि निको भएर घर फर्किएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । आज बिहान थप ५ जना बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने भएपछि अस्पताल बाहिर नै राखेर संक्रमितको उपचार थालिएकोे उहाँको भनाई छ । कोरोना संक्रमणको भयावह बन्दै गएपनि जिल्ला सदरमुकाममा गोरखा अस्पतालमा बाहेक आइसोलेसन बेड निर्माण गरिएको छैन ।
आइसोलेसन बेड नहुदा उपचारका लागि सम्भव भएका बिरामीलाई समेत अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसोलेसनको चरम अभाव भएपछि अस्पतालको नयाँ बन्दै गरेको भवनमा तत्कालका लागि ३० बेडको आइसोलसन निर्माणको प्रयास भइरहेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । ‘अस्पतालको ओपिडी कक्ष नजिकै नयाँ भवन बन्दै गरेको छ, भवन निर्माणको सवैकाम त सम्पन्न भएको छैन’ उहाँले भन्नुभयो, ‘तत्कालका लागि एउटा व्लगमा ३० बेडसम्मको आइसोलन निर्माण गर्न सकिन्छ की भनेर पहल गरिरहेका छौ ।’
उहाँले नयाँ आइसोलेन बेड निर्माणका लागि त्यहाँ ठेकेदार कम्पनीलाई तत्काल बत्ती पानीको व्यवस्था गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । सूचना अधिकारी ढकालले ३० बेडको आइसोलसन निर्माण भएमात्र पनि तत्कालको अबस्थामा बिरामीलाई राखेर उपचार गर्न सजिलो हुने बताउनुभयो । गोरखा जिल्लाा भित्र आइतबारसम्ममा संक्रिय संक्रमितको संख्या ३५० जना पुगेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।