दीपक श्रेष्ठ
गोरखा, १० बैशाख (रासस) । गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकिकृत नमुना बस्ती आज भूकम्प पिडितहरुलाई हस्तान्तरण गरिएको छ । गोरखा भुकम्पका बिस्थापित हुनुपर्ने अबस्थामा पुगेका लाप्राकका भूकम्प पिडितहरुको पुर्नस्थापनाका लागि निर्माण गरिएको एकिकृत नमुना बस्ती लालपुर्जा सहित हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई कार्यालय गोरखाले जनाएको छ ।
प्राधिकरणका प्रमुख सुशिल ज्ञवाली, गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारी, लगायतको उपस्थितीमा गैह्रआवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले भुकम्प पिडितलाई लालपुर्जा थमाएर बस्ती हस्तान्तरण गर्नुभएको हो । ‘ढिलै भएपनि लाप्राकका भूकम्प पिडितले घर पाएका छन्, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो, स्थानीय डम्बरसिंह गुरुङलाई लालपुर्जा उपलब्ध गराएर औपचारिक रुपमा बस्ती हस्तान्तरण भएको छ ।’
भूकम्प गएको करिब ६ बर्षपछि लाप्राकका भूकम्प पिडितहरुले भूकम्प प्रतिरोधी घर पाएका गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । पाँच सय ७३ घरधुरी रहेको एकिकृत नमुना बस्तीमा रहेका भूकम्प पिडितलाई उपलब्ध गराउन पर्ने बाँकी लालपुर्जा मध्ये तयार भएका जति गाउँपालिकालाई प्राप्त भएकाले अब गाउँपालिकाले नै बाँकी रहेकाहरुलाई लालपुर्जा बितरण गर्ने उहाँको भनाई छ ।
‘सवै भूकम्प पिडितहरुको लालपुर्जा त बनिसकेको छैन अहिलेसम्म कुल १३० घरधुरीको लालपुर्जा तयार भएको रहेछ, अध्यक्ष गुरुङले भन्नुभयो,‘ बाँकी रहेकाहरुको आबश्यक कागजपत्र बनाउन प्राधिकरणको टोली लाप्राकमै पुगेर लाभग्राहीको फोटो खिच्ने र बिबरण संकलन गर्ने काम भइरहेको छ ।’ कुल १८ दशमलब ३२ हेक्टर क्षेत्रफलमा फैलिएको एकिकृत नमुना बस्ती गैह्र आवासिय नेपालीसंघ (एनआरएनए) ले निर्माण गरेको होे ।
एक परिवारका लागि करिब ३ आना ३ पैसा जग्गा परेको नुमनाबस्तीमा प्रत्येक घर ४ कोठाका दुई तलाका रहेका छन् भने प्रत्येक घरका लागि छुट्टै शौचालय समेत निर्माण गरिएको छ । बस्तीमा निर्माण भएका घरहरु गोलापर्थाबाट स्थानीयलाई छटइएको थियो । बस्ती निर्माणका लागि अहिलेसम्म करिब ५७ करोड ६६ लाख रुपैया खर्च भएको एनआरएनएले जनाएको छ ।
उत्त बस्ती निर्माणका लागि एनआरएन र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण तथा शहरी बिकास मन्त्रालय बिच २०७३ साल बैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो । दुई बर्ष भित्रमा बस्ती निर्माण गरि भूकम्प पिडितलाई हस्तान्तरण गर्ने भनिएपनि करिब ५ बर्षपछि मात्र बल्ल बस्ती हस्तान्तरण गरिएको हो ।
बस्तीमाा अझै एक घरबाट अर्को घरमा जान आउनका लागि बाटो निर्माण, ढल निकास लगायका काम भने गर्न बाँकी रहेको छ । बाँकी रहेका काम छिट्टै निर्माण सुरु गर्र्ने प्राधिकरण प्रमुख कार्यकारी निर्देशन सुशिल ज्ञवालीले जानकारी दिनुभयो ।