रसुवा २, बैशाख । रसुवामा ट्रिपर दुर्घटना हुँदा एकै घरका दाजुभाइको मृत्यु भएको छ । मृतक मध्ये एक जना शिक्षक रहेका छन् । हिमाली रसुवाको कलिका गाउंपालिका २ स्याउबारीस्थित पासाङल्हामु मार्ग (धुन्चे–कलिकास्थान–बेत्रावती) सडक खण्डमा ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली ट्रिपर दुर्घटना हुँदा सहोदर दाजुभाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सामान लिन जाँदै गरेको ट्रिपर सडकबाट दुईसय मिटर तल खसेर भएको दुर्घटनामा रसुवाकै कालिका गापा १ ग्राङ घर भएका राजेन्द्र तामाङ र उनका भाईसागर तामाङको मृत्यु भएको रसुवाका प्रहरी नायव उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
राजेन्द्र स्थानीय ग्राङ आधारभुत विद्यालयका शिक्षक हुनुहुन्थ्यो भने भाई सागर सोही ट्रिपरका चालक हुनुहुन्थ्यो । दुर्घटनामा गम्भीर घाईते भएका दुवैजनाको रसुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।