गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भीरमा जीप दुर्घटनामा हुदा २ जना सहित सवैको पहिचान खुलेको छ। बारपाक गएर फर्कदै गरेको ना. ५ च. ३२९८ नम्बरको जीप शनिबार साँझ करिब ७ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
दुर्घटनामा परि लम्जुङ दुधपोखरी गाउँपालिका–२ बिचौरका ४८ बर्षका ठाकुर दुवाडी र ५० बर्षका रामेश्वर न्यौपानेको मृत्यु भएको डिएसपी दाहालले बताउनुभयो । दुर्घटनामा अन्य ७ जना घाइते भएको उहाँले बताउनुभयो । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाई छ ।
गम्भीर घाइते हुनेहरुमा दुधपोखरी–२ लम्जुङका ३१ बर्षका बिष्णु न्यौपाने र २८ बर्षका अनिल मरहट्टा रहेका छन् । उहाँहरु दुवै जनाई थप उपचारका लागि राती नै चितवन पठाइएको उहाँले बताउनुभयो ।
दुर्घटनामा परि लम्जुङ जिल्ला बेशीशहर नगरपालिका– १० का २० बर्षिया सन्तोष तामाङ, दुधपोखरी गाउँपालिका–२ का १८ बर्षका अमृत दुवाडी, ३० बर्षका बिष्णु दुवाडी, बर्ष २९ का बिष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशिल नराल भएको डिएसपी दाहालले जानकारी दिनुभयो ।
घाइते नराल दुधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीको भनाई छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो ।
जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनिहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।