गोरखा २१, चैत । गोरखाको पालुङटारमा फोहोरमैला प्रसोधन केन्द्रको स्थापना गरिएको छ । पालुङटार नगरपालिकाको आयोजना र छाया नेपालको सहकार्यमा वडा न्न ३ स्थित गिद्देखोला फाटमा प्रसोधन केन्द्रको स्थापना गरिएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ई. दिपक बाबु कंडेलले फोहोर व्यवस्थापनमा सहयोग गर्न हरेक नागरिकले आफ्नो घरबाटनै कुहिने र नकुहिने फोहोर छुट्याई व्यवस्थापनमा सहयोग गर्न अपिल गर्दै सबैले हातेमालो गर्दै सुन्दर र सफा पालुङटार बनाउने र शहरीकरण उन्मुख हुँदै गरेको नगरपालिकामा भविष्यलाई समेत मध्य नजर गर्दै फोहोरमैला प्रशोधन केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।
फोहोर व्यवस्थापनको लागि पालुङटार नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्र निर्माणको लागि नगरपालिकाले २२ लाखमा जग्गा खरिद गरि छायाँ नेपालसँगको साझेदारीमा करिब ३५ लाखमा फोहोरमैला प्रसोधन केन्द्र स्थापना गरिएको छ ।
परियोजनाको उद्घाटन कार्यक्रममा नगरप्रमुख दिपकबाबु कंडेल, उपप्रमुख पम्फा बसेल, प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, शिक्षा शाखा प्रमुख बाबुराम कारखेती लगायतको सहभागिता रहेको थियो । वडा नम्बर ५ का वडाध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।