गोरखा, १४ चैत । गोरखा नगरपालिका वडा नम्बर १० स्थित छेवेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयबासी ३१ बर्षका डिलबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
बाह्रकिलो बजारबाट दिउँसो छेवेटार तर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको आफेै चढेको ट्याक्टरबाट खसेर नेपालीको घटनास्थलमै मृत्यु भएको उहाँको भनाई छ । ट्याक्टरबाट खसे लगत्तै सोही ट्याक्टरको पछाडीको भागले नेपालीलाई च्यापेको थियो ।
मृतक ट्रयाक्टरको ट्रलीमा छेवेटार तर्फ जाँदै गर्दा एक्कासी खसेका उनको टाउँकोमा गम्भीर चोट लागेको थियो । घटनापछि ट्याक्टर र चालक उज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।