गोरखा १२, चैत । केही साता यता देखी पुनःकोरोना संक्रमण बढन थालेको भन्दै मास्क नलगाई हिड्नेलाई संक्रमण ऐन अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोडिभ–१९ को संक्रमण पुनःछिमेकी मुलुक भारत लगायतका देशहरुमा बढ्दै गईरहेको तथा नेपालमा समेत सोको संक्रमण बढन सक्ने भन्दै सबैलाई मास्क लगाएर मात्र हिड्न सवैलाई आग्रह गरेको हो ।
प्रसासनले जारी गरेको सूचनाको अटेरी गरेको पाईएमा जो कोहीलाई पनि संक्रमण ऐन अनुसार कारवाही गर्ने जनाएको छ । त्यस्तै फागु पर्व घर भित्रै रहेर मनाउन, विगतमा सञ्चालमा आएको क्वारेन्टिन, आसोलेशनलाई तयारी अवस्थामा राख्न स्थानिय तह, गोरखा अस्पताल र स्वास्थ्य केन्द्रहरु सबैलाई अनुरोध समेत गरेको छ ।
दोस्रो चरणको कोरोना संक्रमण फैलन नदिन सञ्चार माध्यामबाट चेतना मुलक सन्देश प्रशारण गर्ने, स्यानिटाईजर प्रयोगमा ल्याउन, मास्क लगाउन र सामाजिक दुरी कायम गर्न समेत सरोकारवालाहरुलाइ आग्रह गरिएको छ । त्यसतै कोरोना संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लाभर सभा, जुलुस, ¥याली, भेला, जमघर, गोष्ठी, सेमिनार, बैठक, भिडभाडहुने ब्यवसाय र कार्यहरु नगर्न नगराउन अनुरोध जिल्ला प्रसासन कार्यालय गोरखाले आग्रह गरेको छ ।