गोरखा १०, चैत । जिल्ला प्रसासन कार्यालय गोरखामा सेवा लिन आउने सेवाग्राही र सरकारी कर्मचारी बिच बिचौलियाको काम गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङकोटका विष्णु पन्त (क्षेत्री) लाई बिचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सेवाग्राहीलाई काम छिटो गराईदिने बाहानामा सेवाग्राहीसंग पैसा लिने गरेको भन्ने सूचनाको आरोपमा कार्यालय परिषरमा खटिएको प्रहरीको टोलीले पन्तलाई पक्राउ गरेको छ । शंका लागेर सोधपुछ गर्दा उल्टै प्रहरीसंग बादबिबाद गरेपछि पन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
पक्राउ परेको पन्तले सार्वजानिक मुद्धामा धरौटी राखेका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पाउनु पर्ने रकम छिटो फिर्ता गराइदिन्छु भन्दै पन्तले सेवाग्राहीबाट चेक मार्फत पैसा लिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।पक्राउ परेका पन्त बिरुद्ध ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।