डडेल्धुरा ८ चैत । श्रीमानले काठले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउँदको हत्या गरेका हुन् । ढेड फिट चिरेको काठले हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उनले बताए ।
श्रीमतीको हत्या गरेका साउँदलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताए । उनले श्रीमान् श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको बताए ।
‘म बाहिर थिए, घरमा आउँदा श्रीमती रक्ताम्य देखे । मृत्यु भइसकेको जस्तो छ भनेर साउँदले प्रहरीलाई खबर गरे सुरुमा,’ प्रहरी नायव निरीक्षक चन्दले भने, ‘प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो । पछि प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन् ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।