पर्सा २ चैत । पर्साको पर्सागढी नगरपालिका ३ पकडिया बडनिहार स्थित मुसहर टोलमा एक महिला माथि छुरा प्रहार भएको छ । घरमा सुतिरहेका बेला ४५ वर्षीया लक्ष्मीनियादेवी चौधरीमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
दुईतीन जनाको समूहमा आएका व्यक्तिले खर र माटोले बनेको भित्ता भत्काएर घरभित्र प्रवेश गरेर चौधरीमाथि छुरा प्रहार गरेको प्रहरीको भनाई छ । चौधरी केही समयदेखि पतिसँग अलग्गै बस्दै आउनु भएको थियो ।
छुरा प्रहारबाट चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उहाँलाई उपचारको लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यसैबीच, प्रहरीले छुरा प्रहार गरेको कसूरमा एकजना नाबालकसहित दुई जनालाई शंकाको आधारमा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साले एकजना १७ वर्षीय नाबालक र अर्का एकजनालाई आधारमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।