बारा ३०, माघ ।। बारामा यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्नले घटनास्थलमा छोडेको औठी र गम्छाको पहिचानबाट प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी महागढीमाई नगरपालिका–१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहालाई प्रहरीले हत्यामा संलग्न भएको भन्दै सार्वजनिक गरेको हो ।
घटनास्थलबाट प्राप्त वस्तुको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।