गोरखा, २४ माघ । उत्तरी गोरखामा गएरातीदेखि भीषण हिमपात परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकासं क्षेत्रमा हिमपात परेको स्थानीयबासीहरुले बताएका छन् । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा रहेको एकिकृत नमुनाबस्ती हिउँले ढाकिएको स्थानीयको भनाई छ । त्यस्तै सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाउँ लगायतका ठाउँमा गएरातीदेखिको हिमपातका कारण मानिसहरु घर बाहिर निस्कन समेत समस्या परेका छन् ।
हिमपातका कारण बद्धबृदा र बालबालिकाहरुलाई बढि समस्या भएको साम्दोबाट स्थानियबासी दोर्जे लामाले जानकारी दिनुभयो । ‘गएरातीदेखि परेको यो हिमपात यो बर्षको तेस्रो पटकको हिमपात हो, अहिलेपनि लागातार हिमपात भई नै रहेको छ, उहाँले भन्नुभयो, ‘ हिमपातका कारण दैनिक कार्य गर्न समेत यहाँका मानिसलाई समस्या भइरहेकोे छ ।’
पछिल्लो पटक दिउसोदेखि उच्च हिमाली क्षेत्रमा भएको हिमपातले उच्च हिमाली क्षेत्रका कतिपय स्थानमा सञ्चार सम्पर्क समेत हुनसकेको छैन । बिहानसम्ममा उच्च हिमाली क्षेत्रमा ४ फिट हिउँ जमीसकेको लामाको भनाई छ । ‘अत्याधिक हिमपात भएपछि हिडडुल गर्न, पशुचौपायालाई घासँपात गर्न समेत गाह्रो भएको छ ।’ उहाँले भन्नुभयो ।