गोरखा १६, माघ । गोरखामा बुधबार प्रहरीले मोटरसाइकल चोरी गर्ने लम्जुङ घर भएका एक युवकलाई पक्राउ गर्यो । पक्राउ परेका लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका १ का रमेश भट्राईले पालुङटारमा ट्राफिक चेक जाँचका क्रममा प्रहरीलाई झुक्याएर भागे । उनले चढेको मोटरसाईकल चोरी भएको खुलेपछि प्रहरी भट्टराईको तिव्र खोजी गर्यो ।
पालुङटारबाट प्रहरीलाई भुक्याएर भागेका भट्टराई त्यहाँबाट भागेर जाँदै गर्दा बाटोमा लिफ्ट मागेको मोटरसाईकलका चालकलाई भुक्याएर नै त्यही मोटरसाईकल लुटेर भाग्न भ्याए । गोरखा जिल्ला भित्र एकैरातमा एउटा सरकारी सहित ३ वटा मोटरसाईकल चोरी भएपनि चोरी गर्ने गिरोहको तिव्र खोजी भइरहेको थियो । सो क्रममा पालुङटारबाट भागेका उनको खोजी गर्दै जादाँ गोरखा प्रहरीले माघ १३ गते सिरानचोक गाउँपालिका ८ स्थित गोपाल डाँडाबाट लिफ्ट माग्दा लुटेरको मोटरसाईकल सहित नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।
पक्राउ परेका भट्टराई त्यसपछि पनि अर्को उपद्रो गर्न भ्याए । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा लिनु अघि स्वास्थ्य जाँच अनिवार्य गराउनु पर्ने भएपनि उनलाई गोरखा अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगियो । सोही क्रममा मौका छोपेर भट्टराईले हतकडी सहित भाग्ने प्रयास गरे । प्रहरी नियन्त्रणबाट भाग्न खोजेपछि संगै रहेका प्रहरी हवल्दारले उनलाई समाउन खोज्दा उनले उल्टै प्रहरीका हातमा टोकि दिए । उनको टोकाईबाट प्रहरी हवल्दार देव्रे हातमा चोट लागेको एसपी गुरुङले जानकारी दिनुभयो ।