गोरखा १५, माघ । गोरखाको निवेल क्षेत्रमा पार्किङमा राखिएको जेसिवी मेशिनमा युवाहरुको एक समूहले आगजनी गरेका छन् । भिमसेन थापा गाउँपालिका १ को निवेलमा पार्किङमा रोकी राखेको मेशिनमा युवाहरुको समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्राप्त विवरण अनुसार आज दिउँसो करिब २:४५ बजेको समयमा पहिचान नखुलेका युवाहरुको समूहले बिगत डेढ दुई बर्षदेखि त्यस क्षेत्रमा पार्किङमा राखिएको बा. २ क १७७ नम्बरको मेशिनमा आगजनी गरेका हुन् । आगजनी पछि उनिहरु फरार रहेको प्रहरीको भनाई छ । फरार भएकाहरुको ब्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादु गुरुङले जानकारी दिनुभयो ।
आगलागीबाट मेशिनमा सामान्य क्षेति पुगेको स्थानियले बताएका छन् । आगलागी गरेको प्रत्यक्ष देखेका स्थानियले आगो नियन्त्रणमा लिए पछि प्रहरीलाई खबर गरेका थिए । जेसिवी मेसिनमा किन आगो लगाए भन्ने बारेमा भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।