काठमाडौं, १४ माघ । जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा भएको भीषण आगलागी भएको छ । गाउँमा भएको आगलागीबाट २५ घर जलेर नष्ट भइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गएराति ७ बजेबाट सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्दासम्म २५ घर जलेर नष्ट भएको भएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट गाडीमा ४५ मिनेटको दूरीमा गाउँपालिकाको केन्द्र र त्यहाँबाट हिँडेर ३ घण्टा लाग्ने ठाउँमा छ ।
क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जारी गरेको सूचनामा उल्लेख छ ।