काठमाण्डौ ११, माघ । विपी राजमार्ग अन्तर्गत बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ कञ्चनपुरका ४१ वर्षका वसन्त मुखिया रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि सिन्धुली अस्पताल तर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । अस्पताल पु¥याउँदा सिन्धुली अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
यस्तै बोलेरोका चालक धनुषाको गोविन्दपुर ६ का २२ वर्षका सिजल यादव गम्भीर घाइते हुनुभएको छ । उहाँको सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।
सिन्धुलीबाट खुर्कोट तर्फ जाँदै गरेको ज १ च १३५४ नम्बरको बोलेरो जीप विपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ सोलाभन्ञ्याङमा हिजो दिउँसो दुर्घटना भएको हो । फाइल फोटो