Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आफैंलाई ‘ज्यान मुद्दा’बाट बचाउने कानुनविदमाथि नै ओलीको अपमान


2.6K
Shares

आफैंलाई ‘ज्यान मुद्दा’बाट बचाउने कानुनविदमाथि नै ओलीको अपमान

काठमाडौं, ९ माघ। घृणात्मक अभिव्यक्तिमा अग्रसर देखिँदै आएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा भइरहेको संसद विघटनसम्बन्धी बहसलाई ‘तमासा’को संज्ञासमेत दिनुभएको छ ।

विसं २०१४ सालमा अधिवक्ताको पहिलो लाइसेन्स लिने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘बाजे’ भन्दै अपमान गर्नुभएको हो । उहाँलाई अदालतमा ‘तमासा देखाउन लगिएको’ समेत प्रधानमन्त्री ओलीले आरोप लगाउनुभयो ।

‘संसद पुनस्र्थापना गर्ने कुनै ठाउँ संविधानमा छैन । वकिलहरुले कुरा फिट्या फिट्यै छन् कोही वकिलहरुले,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिया हुन् बूढा मान्छेलाई ?‘। लगेछन् ।’

वरिष्ठ अधिवक्ता भण्डारीले दशकौंदेखि लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आउनुभएको छ । तर, प्रधानमन्त्री ओलीले शुक्रबारको एक कार्यक्रममा उहाँलाई अपमानित गर्दै ‘बाजेलाई तमासा देखाउन लगिएको’ भन्दै अपमानित गर्नुभएको हो । वरिष्ठ अधिवक्ता भण्डारी कसैबाट बोकिएर अदालतमा बहस गर्न जानुभएको होइन। उहाँ राजा महेन्द्रले प्रधानन्यायाधीशको प्रस्ताव गर्दासमेत अस्वीकार गर्ने त्यागी कानुनविद हुनुहुन्छ ।

९४ वर्षको उमेरमा पनि बहसमा सक्रिय रहेका भण्डारीले वकालत सिकाएका मानिसहरु प्रधानन्ययाधीश र प्रधानमन्त्रीसम्म बनिसकेका छन् । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरी, गोविन्दबहादुर श्रेष्ठ, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत कानुन सिकाउने गुरु मानिन्छन् भण्डारी ।

एक कानुनविदले भने, ‘प्रधानमन्त्रीले बोलेको यो कुरा सामान्य होइन, अदालतको मानहानी हो ।’ ‘तमासा देखाउन, दुःख दिएर लगिएका बाजे वकिल’ भन्दै केपी ओलीले अपमानित गरेकावरिष्ठ अधिवक्ता भण्डारी तिनै व्यक्ति हुन्, जसले पञ्चायतकालमा स्वयं ओलीलाई ज्यान मुद्दाबाट बचाउन दुःख गर्नुभएको थियो ।

काठमाडौं र झापामा मात्र होइन, धनकुटामा समेत ओलीको पक्षमा मुद्दा लड्न भण्डारीले धरानबाट चिउरीबास र मुलघाटको कष्टपूर्ण उकालो ओरालो पैदल यात्रा गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता भण्डारीको नजिक रहेर काम गरेका एकजना कानुनविदले भन्नुभयो ‘त्यसबेला उहाँले केपी ओलीका लागि निकै दुःख गर्नुभयो । धरानबाट पैदलै हिँडेर धनकुटासम्म पुग्नुभयो ।’

केपी ओली त्यसबेला झापामा व्यक्ति हत्या गरेको अभियोगमा जेल पर्नुभएको थियो । पञ्चायती सरकारले उहाँमाथि ज्यान मुद्दा लगाएको थियो ।अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology