काठमाण्डौं २, माघ । वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको हो । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो ।
वि.सं. २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं. ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दै छ । कृत्रिम घटना अभ्याससहित दिउँसो १ बजेपछि हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
दिवस मनाउँदै गर्दा वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब ९ हजार मानिसको मृत्यु भएको थियो भने ८ लाखभन्दा बढी निजी घर पूर्ण रुपले क्षतिग्रस्त भयो । कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ । दिवसको अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ ।