काठमाण्डौ १, माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वले नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्नुहुँदै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।