दीपक श्रेष्ठ
गोरखा, २३ पुस (रासस) । लिगलिगकोट आउने पर्यटकलाई लक्षित गरि गोरखाको पालुङ्गटार नगरपालिकामा करिब ७ करोड रुपैयाको लागतमा सुबिधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । नेपालको एकिकरणको उद्मस्थल लिगलिगकोटको प्रचार–प्रसारसंगै पर्यटकको संख्या बढ्न थालेपछि त्यहाँ आउने पर्यटकलाई लक्षित गरि ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर पौडेलले जानकारी दिनुभयो ।
‘अहिलेसम्म कुल ७ करोड १० लाख रुपैया लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ, उहाँले भन्नुभयो, लिगलिगकोट घुम्न आउने पर्यटकहरु अब बाँस खोज्दै फर्कनु पर्ने बाध्यता हुनेछैन ।’ १० रोपनी क्षेत्रफलमा निर्माण गरि सञ्चालनमा ल्याइएको होटलमा २० वटा आधुनिक र सुबिधा सम्पन्न आरामदायी कोठाहरु रहेको सञ्चालक पौडेलले जानकारी दिनुभयो ।

‘होटलमा सेमिनार हल, पार्टी प्यालेस, आबश्यकता अनुसार बैठक कोठा तथा रेष्टुरेन्ट बार समेत भित्रै सञ्चालन गर्न सकिन्छ, उहाँले भन्नुभयो,‘ अहिले स्विमिङ्ग निर्माणको काम पनि भइरहेको छ ।’ सञ्चालक पौडेलले लिगलिगकोट र जिल्लाका आसपासका पर्यटकिय गन्तव्य घुम्न आउने पर्यटकहरुलाई पर्यटकिय स्थलसम्म घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले गर्ने बताउनुभयो ।
त्यस्तै होटलमा आउने ग्राहकहरुले स्थानीय उत्पादनको स्वाँद चाख्न पाउनेछन् भने पाहुँनाको चाहान अनुसार स्थानीय कलाँ सस्कृतिहरुको प्रस्तुती समेत देखाउने व्यवस्था रहेको उहाँको भनाई छ । पालुङ्गटार क्षेत्रमा सुबिधा सम्पन्न होटल नहुदा घुम्न आउने पर्यटकलाई समस्या हुदै आएको थियो । लिगलिगकोट आउने पर्यटकहरु लिगलिगकोट आसपासका क्षेत्रमा बस्नका लागि उपयुक्त व्यवस्था नहुदा फर्कनु पर्ने बाध्यता रहदै आएको थियो ।

पालुङ्गटार नगरपालिका–२ आँपपिपलमा पर्ने लिगलिगकोटमा अहिले दैनिक एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । दौडिएर राजा हुने परम्परा भएको लिगलिगकोट अध्ययन र अवलोकनका लागि पर्यटकहरु आउने गरेको लिगलिगकोट बिकास अभियानका अध्यक्ष पूणबहादुरा रानाले जानकारी दिनुभयो ।
‘आबश्यक भौतिक पूर्वाधार निर्माण नहुदा यहाँ आउने पर्यटकहरुलाई समस्या हुदै आएको थियो, उहाँले भन्नुभयो, पर्यटकहरुलाई लक्षित गरि होटल सामुदायिक घरबास लगायत सञ्चालन हुन थालेपछि सजिलो भएको छ ।’ लिगलिगकोटमा स्थानीय मगर समुदाय मिलेर भर्खरै मात्र सामुदायिक घरबास समेत सञ्चालन गरिएको उहाँको भनाई छ ।