गोरखा २, कात्तिक । जिल्ला प्रसासन कार्यालय गोरखाले लामो तथा छोटो दुरीमा चल्ने सवै सार्वजनिक यातायात व्यवसायीहरुलाई गत चैत अगावै कायम भएको भाडादर मात्र लिएर सवारी चलाउन व्यवसायीलाई निर्देशन दिएको छ ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै संक्रमण रोक्न यसअघि तय गरिएको अनुसार बढी भाडा नलिन र पुरानै भाडादर लिएर सिट क्षमता अनुसार मात्र यात्रु बाक्ने पनि प्रसासनले भनेको हो ।
त्यस्तै प्रसासनले कोरोना संक्रमणको जोखिमका बिचमा पनि चाडवाडका बेला बिगतमा जस्तै भीडभाड गर्ने नाँचगान गर्ने, भेला हुने लगायतका कार्य भइरहेको जानकारी आएको भन्दै त्यस्ता कार्य नगर्न नगराउन पुनः सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराईद्धारा जारी सूचनामा बिभिन्न धर्मालम्बीहरुले आ–आफ्नो चर्चा, मस्जिद, गुम्बाहरुमा भेला गर्ने गरेको सूचना प्राप्त भएको भन्दै तत्काल त्यस्ता कार्य रोक्न आग्रह गरिएको छ ।
त्यस्तै चाडबाडका बेला पिङ नहाल्न र संक्रमणको बेला जोखिम न्युनिकरणमा सहजीकरण गरिदिनु स्थानीय राजनीतिक दल, नागरिक समाज, संघसस्थालाई प्रसासनले आग्रह गरेको छ ।