गोरखा २०, असोज । नागरिक साँझा सवाल गोरखाले जिल्लामा कोरोना संक्रमणको महामारी फैलिरहेका बेला स्वास्थ्य सुरक्षा नअपनाई बिधालय सञ्चालन भएको पाइएको भन्दै जिल्ला प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
नागरिक साँझा सवालका संयोजक स्थानेश्वर दुवाडीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई आज ध्यानाकर्षण पत्र बुझाउदै सञ्चालनमा आएका सामुदायिक तथा संस्थागत बिधालयको तत्काल अनुगमन गरी संक्रमण फैलन नदिने र जोखिम कम हुने गरी पठनपाठनको वातावरण बनाउन अनुरोध गरिएको छ ।
त्यस्तै जिल्लामा समयदेखि बन्दाबन्दी रहेको ब्यवसाय असोज १ पछि सञ्चालनमा आएको र व्यवासायीहरुबाट म्याद गुज्रेको खाद्य सामग्री बिक्रि बितरण हुने जोखिम उच्च रहेकाले त्यसको पनि अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई नागरिक साँझा सवालले आग्रह गरेको छ । ‘दशै तिहार लगायतका चाडपर्वमा कालोबजारी समेत हुन सक्ने भएकाले संघ, प्रदेश तथा स्थानीय सरकारहरुबाट कडाईका साथ प्रभावकारी अनुगमन गर्ने वातावरण सृजना गराई समन्वयात्मक भुमिका खेल्न अनुरोध गर्दछौ ।’ प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानकर्षण पत्रमा भनिएको छ ।
जिल्लामा सञ्चालित सार्वजानिक यातायातले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भाडादर समेत ५० प्रतिशतले बृद्धि भनेपनि भाडादर बढाएको तर स्वास्थ्य सुरक्षा नअपनाएको पाइएको नागरिक साँझा सवालले बुझाएको ध्यानकर्षण पत्रमा उल्लेख छ । सार्वजनिक सवारी साधानहरुले सरकारले तोकेको कुनैपनि स्वास्थ्य सुरक्षा र मापदण्ड कार्यान्वयन नभएको पाइएको भन्दै तत्काल कार्यान्वयन गराउन पहल गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको हो ।