काठमाण्डौ १९, असोज । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका विभिन्न क्षेत्रमा पहिरोमा परि मृत्यु भएका तथा घाइते भएकाको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गर्नुभएको छ । मन्त्री अर्यालले पहिरो पीडितको घरमै पुगेर नेपाल सरकार र सहकारी अभियानको तर्फबाट नगद १८ लाख ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गर्नुभएको हो ।
मन्त्री अर्यालले वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका केही दिन अघी गएको पहिरो पीडितलाई नगद १८ लाख ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । उहाँले वालिङ नगरपालिका–१४ तमादीमा पुगेर गत असोज ८ गतेको पहिरोमा परि मृत्यु भएकाको परिवारलाई १० लाख २० हजार प्रदान गर्नुभयो । राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गर्नुभएको हो ।
असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो । यसैगरी कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ । उहाँले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गर्नुभयो ।