ओखलढुङगा २४, भदौ । जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठमा कोरोेना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार जिसस प्रमुख श्रेष्ठ, उहाँका श्रीमती र छोराहरु सहित जिल्लाका ९ जनाको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ अर्थात् कोरोना भएको आएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवारमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेता सुनुवार केही महिना यता जिल्लामा पार्टीका कार्यक्रममा सहभागि हुनुहुन्थ्यो । त्यस्तै पत्रकार दिर्ग खत्रीमा समेत सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । पछिल्लो समय पठाइएको ८१ नमुना मध्ये १२ जनामा सङ्क्रमण देखिएको हो । ९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३ जना यसअघि सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा रहेका सकृय सङ्क्रमितहरुकै रिपोर्ट पोजेटिभ आएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।
मंगलबार आएको रिपोर्टमा सुनकोशी गाउँपालिकाका सबैभन्दा धेरै ५ जना, खिजिदेम्बा गाउँपालिकाका १ जना, मानेभञ्ज्याङ गाउँपालिकाका १ जना र जिल्लामा सरुवा भएर आएका २ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित थपिएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।
भेटघाट र भिडभाड नगर्न आग्रह गर्दै ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले सङ्क्रमितहरू बढी घुमफिर गरिरहेका हुनसक्ने भएकाले सम्पर्कमा रहेकाहरूले स्वाब परीक्षण गराउनुपर्ने भएकाले आवश्यक तयारी थालिएको बताउनुभयो । प्रशासनले विज्ञप्ती जारी गर्दै भिडभाड हुनेखालका कुनै पनि गतिविधि नगर्न थप सचेत गराएको छ ।