Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वीभत्स हत्या गरिएको अवस्थामा दाजु बहिनीको शव फेला


1.2K
Shares

वीभत्स हत्या गरिएको अवस्थामा दाजु बहिनीको शव फेला

खोटाङ २१, भदौ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहँकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको शव उहाँहरुको आफ्नै घरमा फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । घटनास्थल छिमेकी भोजपुरको सिमानामा पर्छ ।

घटनाको प्रकृति हेर्दा तीनचार दिन अगाडि हत्या भएको अनुमान गरिएको घटनास्थल पुगेका प्रनाउ चिमरियाले जानकारी दिनुभयो। “यही भदौ १७ गते दिउँसो साढे ४ः०० बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्”, उहाँले भन्नुभयो, “अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।”

घटनास्थलमा फोन सम्पर्क नहुने भएकाले विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको प्रजिअ पौडेलले बताउनुभयो । घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोष टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिनुभयो ।

“अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उहाँको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीघरमै बसेकी रहिछन्”, उहाँले भन्नुभयो, “उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका रहेकाले सम्पत्तिको लोभमा उहाँहरुको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।”

स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ । मृतक दाजुबहिनीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology