गोरखा १८, भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखा नगरपालिका स्तरीय कोभिड १९ सचेतना तथा व्यवस्थापन समितिले सामुहिक क्वारेन्टिनमा भन्दा पनि मंहगो शुल्क तिरेर होटल क्वारेन्टिनमा बस्न जिम्मेवार निकायबाटै सम्बन्धित व्यक्तिलाई दबाब हुने गरेको खुलासा गरेको छ । समितिले बुधबार नगरपालिका भित्रका क्वारेन्टिन, हेल्डिङ सेन्टर तथा आइसोलेसनको अनुगमन र क्वारेन्टिनमा बसेकाहरुसंग लिएको सुझावमा समेत यस्तो पाइएको आज एक बिज्ञप्ती मार्फत जनाएको छ ।
नगरपालिका भित्र होटल क्वारेन्टिन भन्दा सरकारद्धारा सञ्चालित सामुहिक क्वारेन्टिन सुरक्षित र भरपर्दो समेत रहेको पाइएको समितिका संयोजक कृष्ण रानामगरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।‘ सामुहिक क्वारेन्टिनमा सुरक्षाकर्मी, स्वास्थकर्मी समेत परिचालन गरिएको छ, तर होटल क्वारेन्टिनमा त्यसको व्यवस्था समेत नरहेको हुदा होटल क्वारेन्टिनमा बसेका व्यक्ति जतिबेला जहाँ लुकिछिपी निस्कन सक्ने अबस्था समेत भेटिएकाले त्यो जोखिमपूर्ण छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्ती मार्फत क्वारेन्टिनको क्षमताले भ्याएसम्म होटलमा निर्माण गरिएको क्वारेन्टिन भन्दा सरकारी संयन्त्रबाट निर्माण गरिएको क्वारेन्टिनमा बस्न नागरिकहरुलाई प्रोत्साहन गर्न स्थानीय सरकार र जिल्ला प्रसासन कार्यालयलाई गरिएको छ । ‘होटल भन्दा बाहिर निर्माण गरिएका क्वारेन्टिनमा बसेकाहरु व्यक्तिलाई स्वास्थ्यकर्मीको नियमित निगरानी हुने, २४ सै घण्टा सुरक्षाकर्मीबाट पनि निगरानी रहेकाले क्वारेन्टिनमा बसेकाहरु बाहिर निस्कन सक्ने अबस्था छैन, बिज्ञप्तीमा भनिएको छ, होटलमा निर्माण गरिएको क्वारेन्टिनमा न त सुरक्षाकर्मी छ न त स्वास्थ्यकर्मी नै ।’
अनुगमनका क्रममा गोरखा नगरपालिका–१० मा रहेको मनकामना बहिरा आवासिय बिधालयमा निर्माण भएको क्वारेन्टिनमा घेराबार गर्नुपर्ने देखिएकाले त्यसका लागि पहल गर्न समेत स्थानीय सरकारलाई आग्रह गरिएको छ । बिज्ञप्तीमा बन्दाबन्दीको कारण आम जनतामा आर्थिक संकट पैदा भइरहेका बेला स्वास्थकर्मी, र सुरक्षाकर्मीको निगरानी बिनाको महंगो शुल्क सहितको होटल क्वोन्टिनमा जान जिम्मेवार निकायबाटै दबाब हुने गरेको गुनासो समेत भेटिएको उल्लेख छ ।
त्यस्तै सामजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी बिभिन्न अफबाह र भ्रामक हल्लाहरु फैलाउने र नागरिकहरु आंतङ्कित पार्ने तथा संक्रमणको मौका छोपी कालोबजारी, स्टक लुकाउने, बिभिन्न भ्रमपैदा गरि व्यापार व्यवसाय बढाउने जस्ता कार्य भएको भन्ने जनगुनासो समेत आएकाले तत्काल त्यस्त खालका क्रियाकलाप बन्द गर्ने तर्फ ध्यान केन्द्रित गर्न बिज्ञप्ती मार्फत सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।