गोरखा १४, भदौ । गोरखामा भदौं १ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ । आज राती १२ बजे सम्मसम्मका लागि लगाइएको निषेधाज्ञा खुकुलो पारेर जिल्ला प्रवेशको सिमा नाकामा भने थप कडाई गर्ने जिल्ला प्रसासन कार्यालय गोरखाले तयारी गरेको स्रोतको दावी छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण र न्युनीकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्ट सहित सरोकारवालाहरु बैठक बसी जारी निषेधाज्ञा खुकुलो पार्ने र नाकामा भने बाहिरबाट आउनेहरुलाई प्रवेशमा कडाइ गर्ने तयारी भएको हो ।
निषेधाज्ञा घोषणा गरिएको समय सकिनै लाग्दा थप गर्ने वा नगर्ने भन्ने बिषयमा आफुले सरोकारवालाहरु संग छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताउनुभयो । स्रोतका अनुसार सकेसम्म जिल्ला भित्रका व्यापार व्यवसायलाई खुकुलो पार्ने गरि छलफल अघि बढेको छ । सर्वसाधारण नागरिकहरुले पनि जिल्ला प्रवेशको मुख्य नाकामा कडाई गर्दै जिल्ला भित्र भने व्यापार व्यवसायलाई निरन्तरता दिनुपर्ने पक्षमा आवाज उठाउदै आएका छन् ।
गोरखा जिल्ला प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिकाको आबुँखैरेनी सगै गण्डकी गाउँपालिकाको बेनिघाट, सिउरेनीटार, शहिद लखन गाउँपालिका, आरुघाट गाउँपािलका र पालुङटार नगरपालिकाका बिभिन्न क्षेत्रमा कडाई गर्न स्थानीय प्रसासनले सम्बन्धित गाउँपालिकालाई आग्रह गर्दै आएको छ ।