काठमाण्डौं १२, भदौं । आफ्नै ससुरासंग १० लाख रकम फिरौती लिन सालोको अपहरण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ घर भएका २७ वर्षीय कल्लु भनिने कलिम खाँले आफ्नै सालो अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले सालो खजुरा गाउँपालिका–५ निवासी इशहाक जाकिर भनिने इन्तजार खाँलाई भदौ ९ गते बेलुका साढे ८ बजे अपहरण गरेर बन्दक बनाएका थिए।
इन्तजार गाउँमा मुहर्रमको रमाईलो हेर्न गएको मौका छोपेर कलिमले उनलाई अपहरण गरेका थिए। अपहरणपछि आफ्नै ससुरासँग दश लाख फिरौती माग्दै आएका थिए। कलिमले सालो इन्तजारलाई अपहरण पछि जयसपुरस्थित आफ्नो घर कोठामा बन्धक बनाई फोन सम्पर्कमार्फत १० लाखका लागि धम्काउँदै आएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काले जानकारी दिनुभयो ।
बालक अपहरण परेको र अपहरणकारीले दश लाख रुपैयाँ फिरौती माग्दै धम्काउने गरेको सूचना प्रहरीले पाएलगत्तै खोजतलास सुरु गरेको थियो ।प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि कलिमले ११ गते सालोलाई जानकी गाउँपालिका वडा नं ५ बुढिया गाउँस्थित फुपुको घरमा लगेर छोडेका थिए। त्यहीँबाट प्रहरीले बालकको उद्धार गर्नुको साथै अपहरणकारी भनिएका कलिमलाई समेत नियन्त्रणमा लिएको डिएसपी खड्काले जानकारी दिनुभयो
‘ससुराले जग्गा खरिद गर्नको लागि घरमा पैसा जम्मा गरेको थाहा पाएका ज्वाइँ कलिमले त्यही पैसा फुत्काउने उद्देश्यले अपहरण गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
अपहरणमा प्रयोग भएको एउटा मोटरसाइकल र धम्काएर फिरौती माग्न प्रयोग भएको एउटा मोबाइल फोन पनि बरामद भएको डिएसपी खड्काले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।