गोरखा २६, साउन । जिल्ला प्रहरी कार्यालय गोरखाले अदालतको फैसला कार्यान्वयनका लागि तदारुकता देखाएको छ । कार्यालयले अदालतबाट फैसला भएर पनि कारवाही भुक्तानी नगरी फरार रहेका अभियुक्तहरुको खोजी कार्यलाई तिव्र पारेको जनाएको छ ।
चालु आर्थिक बर्षको २६ दिनमा ९ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाको भनाई छ ।
हिजो मात्र २ जना फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरीले सोमबार थप एक जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ का ३४ बर्षिय मिनबहादर तामाङ रहेका छन् ।
तामाङलाई जारी मुद्दामा जिल्ला अदालत गोरखाले सजाय सुनाएको थियो । फरार प्रतिबादी तामाङलाई गोरखा नगरपालिका वडा नम्बर ६ बाट प्रहरीको बिशेष टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनलाई आजै जिल्ला अदालत गोरखमा बुझाइएको प्रहरीले जनाएको छ ।