काठमाण्डौ २६, साउन । काठमाण्डौंको गोंगबुमामा हत्या भएका व्यक्तिको हत्या भएको घर प्रहरीले फेला पारेको छ । आइतबार बिहान बिभत्स हत्या गरिएको अबस्थामा शव फेला परेका अन्दाजी ४५ बर्षका एक पुरुषको हत्या भएको स्थलको पहिचान भएको छ । हत्या भएका व्यक्ति दाङका कृष्णबहादुर बोहराको रहेको पनि खुलेको प्रहरीले जनाएको छ ।
घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिनुभयो ।
मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको हो । घटना भएको २४ घण्टासम्म प्रहरीले शवको शनाखत गर्न नसकेपछि समस्या भएको थियो । शवको सनाखत गर्न नसकेपछि प्रहरीले उनको फोटोसमेत सार्वजनिक गरेको थियो । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।