गोरखा २२, साउन । गोरखाको पालुङटार नगरपालिका–१ खुर्पाजुङका दुई युवक दरौंदी नदीले बगाएर बेपत्ता भएका छन् । गोरखा नगरपालिका वडा नम्बर ३ स्थित बेनिखोलामा फुटवल हेरे फर्किदै उनिहरुलाई नदीले बगाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिनुभयो ।
बेपत्ता हुनेहरुमा बर्ष १६ का सविन श्रेष्ठ र १५ बर्षका प्रज्वल श्रेष्ठ रहेकोे उहाँले जानकारी दिनुभयो । फुटवल हेर्न आएको अन्य २ जना भने नदी तर्न सफल भएका थिए । गोरखा नगरपालिका वडा नम्बर ३ स्थित बेनिखोलामा फुटवल खेल्न हेर्न खुर्पाजुङबाट ४ जना साथीहरु मिलेर आएका रहेछन्, उहाँले भन्नुभयो, फुटवल हेरेर फर्कदै गर्दा नदी तर्ने क्रममा २ जनालई बगाएछ ।’ आज दिउँसो करिब ४ः३० बजे उनिहरुलाई नदीले बगाएको डिएसपी खतिवडाले बताउनुभयो ।
लगातारको बर्षाका कारण दरौदी नदीमा पानीको वहाव बढी भएकाले पनि खोजी कार्यमा समस्या भइरहेको डिएसपी खतिवडाको भनाई छ । मझुवा, बाहकिलो र चोरकाटे लगायत दरौँदी नदीको आसपासका क्षेत्रमा प्रहरी, स्थानीयबासी र बेपत्ता युवकका आफ्न्त मिलेर खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।