गोरखा १५, साउन । मनकामना केबलकारले आफ्ना सबै कर्मचारीहरुलाई लकडाउन अवधिभरका तलब भूक्तानी दिने भएको छ । कर्मचारीको दैनिक जीविकोपार्जनलाई मध्यनजर गर्दै केबलकारले पुरै रकम भूक्तानी गर्ने भएको हो । लकडाउन अवधिमा देश भित्रका विभिन्न उद्योगहरुले आफ्ना कर्मचारीहरुलाई तलब दिन आनाकानी गरेको बेला केबलकारले भने आफ्ना कर्मचारीहरुको पुरा रकम भूक्तानी दिने निर्णय गरेको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठ जानकारी दिनुभयो । ‘देश अहिले कोरोना महामारीमा छ ।
यो अवस्था सकिएर सामान्य भएपछि पुनः हिसाब मिलान गर्ने गरी ०७६ साल चैत्र देखी ०७७ साल असार मसान्त सम्मको हाम्रा कर्मचारीहरुले खाईपाई आएको पुरा तलब भूक्तानी गरिने छ’ श्रेष्ठले भन्नुभयो । केबलकार प्रशासनले असार मसान्तसम्ममा कर्मचारीहरुलाई ०७६ साल चैत महिनाको ५० प्रतिशत र ०७७ साल वैशाख, जेठ र असारको ४० प्रतिशतले हुन आउने रकम भूक्तानी गरिसकेको छ ।
चैत्र महिना देखी नै पुर्ण रुपमा बन्द भएको केबलकारले ४ महिनाको अवधिमा ३० करोड भन्दा बढी घाटा ब्यर्होरी सेकेको छ ।नेपाल सरकारले कर्मचारी र कम्पनीको योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा जम्मा भएको ३१ प्रतिशत रकम सरकारले दिने निर्णय संगै केबलकारका सबै कर्मचारीहरुलाई पुरा तलब भूक्तानीको निर्णय भएको हो । सरकारको यो निर्णय संगै अब केबलकारमा काम गर्ने कर्मचारीलाई ११ प्रतिशत र केबरकारलाई २० प्रतिशत बराबरको राहत पुग्ने छ ।
कम्पनीको यो निर्णयले मनकामना केबलकारका काम गर्ने १५० भन्दा बढी कर्मचारीलाई राहत मिल्ने भएको छ ।संघिय राजधानी काठमाण्डौंमा मंगलबार नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेड युनियन महासंघबीच लकडाउन अवधिमा श्रमिकलाई ५० प्रतिशत तलब भूक्तानी गर्ने सम्झौता भएको थियो ।
केबलकार प्रशासनका अनुसार कोरोना भाइरस संक्रमणको अवस्था सामान्य भएको खण्डमा आउँदो कात्तिकदेखि केबलकार संचालनमा आउने छ ।