गोरखा १०, साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुको मापुडाँडामा गएको ठूलो पहिरोले थनिएको नौलीखोला बिस्तारै खुल्न थालेको छ । गएरातीदेखि निरन्तर खसेको पहिरोका कारण थुनिएको नौनीखोलाको आज बिहान ११ बजेपछि बिस्तारै पानी भरिएर बग्न थालेको स्थानीय सूर्य गुरुङले जानकारी दिनुभयो । ‘पहिरोले खोला थुनिएर ताल बनिसकेको छ, उहाँले भन्नुभयो, रातभरी ठूलो पानी परेकाले पनि खोला बढेका र ताल नफुटेकाले आसपासका क्षेत्रमा बस्तीमा जोखिम भने कायमै रहेको छ ।’
पहिरोले थुनिएको ताल फुट्यो भने लापुबेसी र आसपासका क्षेत्रमा पर्ने बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनाको बस्ती जोखिममा पर्ने गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष सुर्यमान गुरुङले खोला थुनिएपछि जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । ‘पहिराको कारण मापु डाँडामा रहेका गोठहरु समेत भत्किएका छन् ।
गोठमा रहेका चार वटा गाई समेत पुरिएर बेपत्ता भएको छ, उहाँले भन्नुभयो,मानविय क्षति हुन नदिन जोखिमका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको छ ।’ सानो निकासबाट बग्न थालेको खोला बिस्तारै बढ्न थालेको उहाँको भनाई छ । खोला वरपरको क्षेत्रमा ६० घरभन्दा बढि रहेकाले उनिहरु मध्ये १२ घरलाई सुरक्षिता स्थानमा सारिएको छ भने अन्यलाई सर्तक रहन आग्रह गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।