काठमाण्डौ ८, साउन । सर्वोच्च अदालतले भदौ एक गतेपछि मात्र बन्दाबन्दी खुला गर्ने भएको छ । सरकारले मंगलबार रातिदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरे पनि सर्वोच्च अदालतले यसअघि आफैले दिएको फैसला अनुसार भदौ एक गतेदेखि मात्र लकडाउन खुलेको मान्ने भएको हो । सरकारले भदौ एक गतेदेखि मात्र लामो दूरीको यातायात चल्न दिने निर्णय गरेकाले त्यसपछि मात्र बन्दाबन्दी अन्त्य भएको मान्ने निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
बन्दाबन्दी अवधिलाई ‘शून्य अवधि’ मान्ने र यो अवधिमा अदालतबाट गर्नुपर्ने काम बन्दाबन्दी पूर्ण रुपमा खुलेको एक महिनाभित्र गर्न सकिने फैसला सर्वोच्चले जेठ १५ गते गरेको थियो । कोरोना महामारीका कारण विशेष परिस्थिति सिर्जना हुँदा भएको कानुनी प्रावधानले सम्बोधन गर्न नसकेपछि सर्वोच्चले अडवडको आदेश गरेको थियो ।
उक्त आदेशअनुसार कारोनाका कारण सेवा रोकेको चैत नौ गतेदेखि गुज्रेका म्याद, हदम्याद, तारिख लकडाउन पूर्ण रुपमा खुलेको एक महिनाभित्र थाम्न सकिनेछ । २०७६ चैत नौ गतेदेखि अदालतले नियमित कार्यसम्पादन नगर्दा गुज्रेका म्याद, हदम्याद, तारिख, बकपत्र, बयान, रिट निवेदन आदि भदौभर थाम्न सकिने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।