गोरखा ३०, असार । गोरखा क्याम्पसको आइसोलेसन सेन्टरमा उपचाररत २५ कोरोना संक्रमित निको भएर आज घर फर्किएका छन् । ५ स्थानीय तहका ४ महिला सहित २५ जनालाई आज डिस्चार्ज गरिएको आइसोलेसन सेन्टरका सूचना अधिकारी निश्चल अर्यालले दिनुभयो ।
जिल्लाको पालुङटार नगरपालिकाका र सिरानचोक गाउँपालिकाका २/२ जना, भिमसेन थापा गाउँपालिकाका १७ जना, सहिद लखन गाउँपालिकाका ३ जना र वारपाक सुलिकोट गाउँपालिकाका १ जना निको भएर घर फर्किएको उहाँले बताउनुभयो ।
१४ दिन आइसोलेसनमा बसेका उनिहरुकोे दोस्रो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अर्यालले जानकारी दिनुभयो । आइसोलेसनबाट डिस्चार्ज गरिएका सवैलाई थप १४ दिन होम क्वारेन्टाइनमा बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
गोरखा जिल्लामा आज २५ जना संक्रमित कोरोना जितेर फर्किए संगै जिल्लामा कोरोना निको हुनेको सख्या ८५ पुगेको छ । अहिलेसम्म जिल्ला भित्र १ सय जनामा संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जिल्ला भित्र अब १३ जनामात्र आइसोलसनमा रहेका छन् भने २ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।