तनहुँ २७, असार । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेनटाइनमा रहेका एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ । यही असार २३ गते भारतबाट आउनुभएका भानु नगरपालिका– ५ का ६६ पुरुषको बिहान उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको तनुहँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।
मृतकमा कोरोना सङ्क्रमण भए नभएको पुष्टि गर्न स्वाब परीक्षण गर्न लागिएको उहाँको भनाई छ । बिहान करिब ५ बजे एक्कासि बेहोस भएपछि उहाँलाई एम्बुलेन्समा राखी उपचारको लागि पोखरा पठाइएकोमा बाटोमा नै मृत्यु भएको हो । मृतकको क्वारेनटाइनमा रहँदा नै उहाँमा उच्च रक्तचाप, प्यारालाइसिस र मधुमेहको समस्या देखिएको जनाइएको छ ।