गोरखा २६, असार – जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले प्रहार गरेको गोली लागेर भारतीय सेनामा कार्यरत गोरखाको आरुघाट गाउँपालिका मान्वुका एक युवकको ज्यान गएको छ ।
भारतीय सीमा रक्षाका क्रममा खटिएको गोरखाको मान्वु घर भएका भारतीय सेनाका हवल्दार ३६ वर्षीय सम्बर गुरुङको ज्यान गएको हिन्दुस्थान टाइम्सले जनाएको छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्रमा आज विहान भएका गोलीबारीमा हवल्दार गुरुङको मृत्यु भएको हो ।
जम्मु–कश्मीरको रजौरी जिल्लास्थित नोसेरा क्षेत्रमा भएको गोली हानाहानमा गम्भीर घाइते भएका गुरुङको शुक्रबार (आज) बिहान) निधन भएको भारतीय रक्षा प्रवक्ता देवेन्दर आनन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो। यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवल्दार दीपक कार्कीको मृत्यु भएको भएको थियो।