एजेन्सी २६, असार । भारतको उत्तर प्रदेश प्रहरीले कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको पुष्टि गरेको छ ।उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले विकासलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।
दुर्घटनापछि विकासले हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।
त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका विकासको मृत्यु भएको जनाइएको छ । उनलाई कति गोली लागेको छ भन्ने खुलेको छैन । घटनामा केही प्रहरी पनि मारिएको जनाइएको छ ।
कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेलाई उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले सडकमार्ग हुँदै कानपुर लगिरहेको थियो ।
कानपुरमा आठजना प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो।