गोरखा २४, असार । गोरखाको मुख्य÷मुख्य बजार क्षेत्रमा दोस्रो चरणको सिसी क्यामेरा जडानको काम सम्पन्न भएको छ । सामुदायिक सेवक केन्द«ले गोरखा नगरपालिका गोरखाको आर्थिक सहयोगमा नगरक्षेत्र भित्र थप ३१ वटा क्यामेरा जडानको काम सम्पन्न गरेको अध्यक्ष कैलाशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
दोस्रो चरणमा जिल्लाको गोरखा नगरपालिका क्षेत्र अन्तरर्गतको वडा नम्बर १३ को अबुवा बजार, १२ को अबुवा, ११ को १२ किलो बजार तथा वडा नम्बर ५, ६, ७ र ८ को बजार क्षेत्रमा ३१ वटा क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । जडानको काम सम्पन्न भए लगत्तै बुधबार एक कार्यक्रमको अयाोजना गरि सामुदायिक सेवा केन्द्रले योजना हस्तान्तरण गरेको छ । त्यस्तै नगरपालिकाले बुधबार नै जिल्ला प्रहरी कार्यालय गोरखालाई सम्पन्न योजना हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
केन्द्रका अध्यक्ष कैलाश बाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तलाई, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।
योजना हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पन्तले आउने आर्थिक बर्ष गोरखा नगरपालिकाको बाँकी क्षेत्रलाई समेटने गरी बजेट तर्जुमाको ब्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सिसी क्यामेराकै कारण प्रहरीलाई सुरक्षा ब्यवस्थामा सहयोग पुगेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनुभयो ।
सामुदायिक सेवा केन्द्रले पहिलो चरणमा गोरखा नगरपालिकाको आर्थिक सहगोगमा नगर क्षेत्र भित्रको वडा नम्बर ६, ७ र ८ मा ३७ वटा सडक क्यामेरा जडान गरेको थियो भने यो आर्थिक बर्षमा वडा नम्बर ५, ६, ७, ८, ११, १२ र १३ मा ३१ वटा क्यामेरा थप गरेको हो ।
थप गरिएको क्यामेराले अबुवा बजार, १२ किलो बजार, खोलखोले, चाईनिजधारा, पेट्रोल पम्प, हरमटारी, कालीमाटी, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, विपीचोक, धारापानी, राहटेपानी, तल्लो मैदान हुदै चिल्ड्रेन पार्कको सुरक्षा ब्यवस्था हेर्न सकिन्छ । साथै पदेली, ठुलो आँगन, तिनधारे, पाटेचौर, गोरखा अस्पताल, घ्याम्पेशाल बसपार्क र लोकतान्त्रिक चोक सम्मको सुरक्षा ब्यवस्था हेर्न मिल्ने गरी क्यामेरा बिस्तार गरिएको छ ।
क्यामेरा जडानका लागि गत बर्ष नगरपालिकाले १८ लाख उपलब्ध गराएको थियो भने यो बर्ष १० लाख रुपैयाँ उपलब्ध गराएको गोरखा नगरपालिकाले जनाएको छ ।कार्यक्रममा प्राविधिक सहयोग गर्ने सन टेक्नोलोटी बनस्थलीलाई सम्मान पत्र र आर्थिक सहयोग उपलब्ध गराउने टोल विकास संस्थालाई कदर पत्र प्रदान गरिएको थियो ।