बारपाक क्षेत्रमा देखिएको सलह किरा । तस्विर : कृष्ण गुरुङ
गोरखा १४, असार । गोरखाको बारापाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ स्थित बारपाक क्षेत्रमा सलह किरा देखिएको छ । शनिबार मात्र नेपाल प्रवेश गरेको सलह किरा जिल्लाको बारपाक क्षेत्रमा हिजो फाट्फुट्ट देखिएको भएपनि आज बिहान सय/दुईसय जतिको समुहमा भेटिएको कृषि ज्ञानकेन्द्र गोरखाकी प्रमुख बरिष्ट कृषि बिकास अधिकृत मनिता थापाले जानकारी दिनुभयो ।
बारपाक क्षेत्रमा देखिएको सलह किरा बाली नाली नष्ट गर्ने गरि आएको भन्दा पनि हावाको प्रवाहका कारण सानो समुह त्यहाँ आइपुगेको पाइएको उहाँले बताउनुभयो ।‘लम्जुङ, सिन्धुली, मकवानपुर र आसपासका क्षेत्रमा हिजो केही थोरै समुहमा आइपुगेको भन्ने जानकारी थियो, उहाँले भन्नुभयो,‘ त्यहाँबाट हावाको प्रवाहका कारण केही यता तिर आइपुगेको हुन सक्छ ।’
बारपाक क्षेत्रमा देखिएको सलह किरा । तस्विर : कृष्ण गुरुङ
उहाँले त्यसले ठूलो समुहमा आएको जस्तो गरि बाली नाली सखापै पार्ने अबस्था भने नरहेको जानकारी दिनुभयो । बारपाक चिसो ठाउँ पनि भएका र यो जातको किराले चिसो मन नपराउने हुदा बारपाक क्षेत्रमा बसेर थप प्रजनन गर्ने अबस्था पनि नरहेको उहाँले बताउनुभयो । बारपाक क्षेत्रमा सलह किरा देखिएपछि किसानहरु बिहानै बारीमा आफ्ना अन्नबाली कुरेर बसेको उहाँको भनाई छ ।
देशका बिभिन्न जिल्लामा सहल किराको प्रवेश गरिसकेकाले गोरखामा पनि बाली नाली नष्ट नै गर्ने गरि आउनसक्ने भएकाले सचेत रहन समेत उहाँले सवैलाई आग्रह गर्नुभयो । जिल्ला भित्र आउनसक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै त्यसको अध्ययन समेत भइरहेको उहाँको भनाई छ ।