गोरखा ८, असार । गोरखाको चोरकाटेमा भएको महिला हिंसा सम्वन्धी मुद्वामा प्रहरीले मिलापत्र गर्न दवाव दिएको खुलासा भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका ५ जरेबरमा पसल गरेर बस्ने एक महिलालाई कुटपिट गरेको मुद्वामा छलफल गरी मिलापत्र गर्न दवाव दिएको खुलेको हो । गएको ६ गते शनिबार जरेबरमा पसल गरी बस्ने रेग्मीलाई स्थानिय किसान श्रेष्ठले लेनदेनको बिषयमा कुटपिट गर्दा उहाँ घाईते हुनुभएको थियो ।
उनलाई चोरकाटे प्रहरीले छेवेटारमा सामान्य उपचार गराएर चितवन पठाएको चोरकाटे प्रहरी चौकीका इन्चार्ज केशबहादुर पौडेल बताउनुभयो । ‘प्रहरीले महिलाको उपचारका लागि ल्याउदा नाकबाट रगत बगिरहेकोले थप उपचारपछि चितवन पठाएका हौ’ पृथ्वीनारायण सामुदाकिय अस्पतालका चिकित्सकले भन्नुभयो । चिकित्सकका अनुसार घाइतेको अबस्था गम्भीर भएकाले तत्कालै थप उपचारका चितवन पठाइएको थियो ।
उपचारपछि पिडित आज जिल्ला प्रहरी कार्यालय गोरखामा मुद्वा दर्ता गर्न आउदा पहिला उतै प्रहरी चौकीमा बसेर छलफल गरेर मात्र आउन भनेको पिडित महिलाले भनाई छ । श्रेष्ठले पसलमा खाजा खाएको ८÷१० हजार पुगेका र पटक पटक पैसा माग्दा समेत नदिएकाले शनिबार बिहान भेट भएको बेला पनि पैसाको कुरा गर्दा उनी एक्कासी रिसाएर मार्ने धम्की उहाँले बताउनुभयो । ‘किसानले अनुहार र टाउकोमा मुक्काले हानेर म ढले । कसो कसो गरेर उठेर हातमा टोकिए अनि बल्ल त्यहाँबाट भाग्यो । त्यस पछि केही थाहा भएन ।’ पिडितले भन्नुभयो ।
यता घटनाका आरोपी किसान श्रेष्ठ भने आफुले केही पैसा तिर्न बाँकी भएको स्विकार गर्दै अरुले नदिएको पैसाको बहानामा विवाद गरेको तर आफुले कुटपिट नगरेको दावी गर्नुभयो । ‘महिला माथि मैले कसरी हातपात गर्ने ?’ उल्टै उहाँले प्रश्न समेत गर्नुभयो ।
श्रेष्ठले विवाद भएको स्विकार गरे पनि महिलालाई गाली गलौच र हातपात नगरेको दावी गर्नुभयो । यता जिल्ला प्रहरी कार्यालय गोरखामा महिला सेलको जिम्मेवारी पाएको प्रहरी निरिक्षक सिमोन घितालले आरोपितलाई तत्कालै पक्राउ गरी जिल्ला पठाउन चौकीलाई भनेको बताउनुभयो ।