नागरिक सवाल संवाददता
पाल्पा ८ असार । पाल्पाको तानसेन नगरपालिका–११ मा पर्ने सम्मोबारी भन्ने स्थानमा पहिरो जाँदा मिनी ट्रक, टयांकर र मोटरसाइकल गरि ४ वटा सवारी साधन एकैपट पुरिएका छन् ।
माथिबाट खसेको पहिरोमा परी सडकमा गुडिरहेका सवारीमा यात्रा गरिरहेका २ जनाको पुरिएर मृत्यु भएको छ । घटनास्थल तानसेन बजारदेखि ५ किलोमिटर टाढा पर्ने सो स्थान गुलमीको तम्घास जाने बाटोमा पर्छ ।
पहिरो पन्छाउने क्रममा थप पहिरो खसेको र उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोका कारण एउटा मिनिट्रक सय मिटर तल पुगेको छ भने टयांकर ५०० मिटर तल पुगेको छ । एउटा मोटरसाइकल र हेलमेट पुरिएको देखिएको छ ।
घटनामा परेका १ जनालाई उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरीको भनाइ छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्दारमा खटिएका छन् ।