जाजरकोट २१, जेठ । पश्चिम रुकुमको जौरजहारी घटनामा बेपत्ता भएका थप एक युवकको शव भेटिएकाो छ । सोतीबाट बेपत्ता गोविन्द शाहीको शव घटनाको १० दिनपछि भेरी नदीको किनारामा फेला परेको हो । जाजरकोटको भेरी नगरपालिका ११ मटेलाका शाहीको शवको प्रकृति हेर्दा विभत्स रुपमा हत्या गरेर फालिएको जस्तो पाइएको छ । शवको प्रकृति हेर्दा उनलाई ढुंगाले मुखमा हानेर, मारेर मात्रै भेरी नदीमा फालिएको देखिन्छ ।
उनको मुख पूर्ण रुपमा ढुंगाले हानेर कच्याककुच्चुक पारिएको छ । मुखभित्र दात समेत भाच्चिने गरी ढुंगाले हानेको शबमा देखिन्छ । घटना भएको १० दिनसम्म पनि उनको टाउकोमा रगत देखिएको छ । मुख, टाउको र पछाडी पिठ्युमा रगत देखिएपछि उनलाई हत्या गरेर भेरी नदीमा खसालिएको अनुमान छ ।
प्रहरीले घटनामा संलग्न भएको आंशकमा वडाध्यक्ष डम्बर मल्लसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जेठ १० गते राती सोतीकी युवती शुष्मा मल्ललाई लिन गएका जाजरकोटका युवा नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।
तर आरोपित पक्षले उनीहरुले भेरी नदीमा हाम फालेर मृत्यु भएको दावी गर्दै आएका छन् ।