गोरखा ८, जेठ -गोरखा अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्न ल्याव स्थापनाका लागि पहल गरिने भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनामा आज बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ल्याव स्थापना र ल्याव टेक्निसियनलाई तत्काल तालिमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको कार्यालयका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।
बैठकले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जिल्लाको प्रमुख नाका मझुवा देउरालीमा स्थापित हेल्थ डेस्क र मनकामना बहिरा माद्यामिक विद्यालयमा स्थापित क्वारेन्टाइनहरुको सुरक्षा लागि निर्णय भएअनुसार आबश्यकताका आधारमा सेनालाई खटाउने निर्णय भएको उहाँले बताउनुभयोे । त्यस्तै जिल्ला भित्र निर्माण गरिएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि सवै स्थानीय तहका वडामा रहेका राजनीतिक दलका कार्यकर्ता एवं टोल विकास संस्थाका सदस्यहरु परिचालन गरी कार्य गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
बैठकले जिल्ला बिभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरु सुरक्षा निकायको नजिकमा रहेका उपयुक्त ठाउमा स्थानान्तरण गरि मापदण्ड बमोजिम थप व्यवस्थित गर्ने निर्णय पनि गरिएको छ । वर्तमान कठिन परिस्थितीमा विभिन्न व्यक्तिहरुबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई घरबाट निकाल्ने खोज्ने, गैरकानूनी चेकजाँच गर्ने, आवागमनमा अवरोध गर्ने, दुव्र्यवहार गर्ने लगायतका कानून विपरितका कार्यहरु गरि मनोवल गिराउन खोज्ने तथा टोल टोलमा प्रवेश निषेध गर्ने जस्ता अमानवीय कार्यहरु हुने गरेको पाइएकाले यस्ता अवान्छित क्रियाकलापहरु नियन्त्रण गरि आवश्यक परे नियन्त्रणमा लिई कानुन बमोजिम कार्वाही गर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला भित्र कृषि सामग्री कम्पनीको विक्री केन्द्र स्थापनाका लागि पहल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । जिल्लामा रासायनिक मलको आपूर्तिमा कमी हुदा उत्पादनमा गम्भीर असर परेकाले आउँदा दिनमा हुनसक्ने खाद्य संकट समाधान गर्न उत्पादन बृद्धिका लागि जिल्लामै कृषि सामग्री कम्पनीको शाखा खोली विक्री केन्द्र स्थापना गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा र गण्डकी प्रदेश सरकारलाई आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय भएको छ । बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यक्रम विकास केन्द्रबाट अनुमति लिएका निजी क्षेत्रका प्रकाशन संस्थाबाट प्रकाशित विद्यालय तहका पुस्तकहरुको ढुवानीका लागि आवागमन गर्न खुल्ला गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।