गोरखा ७, जेठ । गोरखाको पालुङटार नगरपालिकाले खाद्यान्य लगायतका अत्याबश्यक सामाग्री ढुवानी बिहान ६ बजेदेखि ९ बजेसम्म गर्न दिने भएको छ । यस अघि कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्याबश्यक सामग्री ढुवानी गर्ने निर्णय गरेपनि उक्त समय अनुकुल नभएको भन्दै समय परिवर्तन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अघिकृत तोयाराज शर्माले बुधबार एक सूचना जारी गरि जानकारी दिनुभयो ।
पालुङटार नगरपालिकाका अधिकासं वडाहरुमा आबश्यक खाद्यन्य सामग्री तनहुँको डुम्रे, तुरतुरे, सत्रसय, आँबुखैरेनी लगायतका स्थानबाट ल्याउनुपर्ने भएकाले तनहुँको लकडाउनको निर्णय अनुसार बिहान ६ देखि ९ बजेसम्म अत्याबश्यक बस्तु बिक्रि गर्ने पसलहरु खुल्ने भएकाले जिल्लामा निर्धारण गरिएको समय पालुङटार नगरपालिकाको लागि उपयुक्त भएको जनाइएको छ ।
नगरप्रमुख उपप्रमुख, प्रशासकिय अधिकृत इलाका प्रहरी कार्यालय प्रमुखहरुको हिजो बसेको बैठकले जिल्ला स्तरीय कमाण्डपोष्टको निर्णयलाई उल्ट्याउदै समय परिवर्तन गरेको हो । नगरपालिकाले खद्यान्य, तरकारी, पशुपन्छीको दाना, कृषि सामग्री, मल बिउ बिजन लागयतका सामग्री ढुवानी गर्ने समय परिर्वतन गरेको हो । अन्य ढुवानीको हकमा कमाण्ड पोस्टको निर्णय नै यथावत हुने नगरपालिकाले जनाएको छ ।
