गोरखा ११ बैशाख । गोरखाको मसेलमा कृषि मलमा कालोबजारी भएको पाइएको छ । लकडाउनको मौका छोपी भीमसेनथापा गाउँपालिका १ मसेलका किराना पसलेहरुले प्रतिबोरा पाँचसय रुपैयाँ बढाएर बिक्री गरेका किसानहरुको गुनासो छ । लकडाउन सुरुहुनुभन्दा अघि प्रतिबोरा युरिया मल एकहजार ५० मा पाइएको तर अहिले पाँचसय रुपैयाँ बढि तिर्नुपरेको खगीथोकका किसान अर्जुन पोखरेलले गुनासो गर्नुभयोे ।
‘कवीन्द्रको पसलमा २५ किलो मल सातसय ५० रुपैयाँमा तिरेर किन्यौं’, पोखरेलले भन्नुभयोे, ‘एक बोरा मागेको हो, तर आधा बोरा मात्र दिए । हामी किन्न गएका सबैले एउटै मूल्यमा बोरा फुटाएर किनेका हौं ।’ कतिपय किसानहरुले प्रतिकिलो ३० रुपैयाँका दरले मल किनेका उहाँले बताउनुभयो । अर्का किसान छविलाल थापाले पनि २५ किलो युरिया मल सातसय ५० रुपैयाँका दरले किनेको बताउनुभयो । सहकारीको सदस्य नरहेकाले आफूले मल किन्न खोज्दा भने मल नपाएको अर्का किसान हरिप्रसाद पोखरेलको गुनासो छ ।
‘यहाँ अन्याय भएको छ’, पोखरेलले भन्नुभयोे, ‘हामी मल किन्न जाँदा वास्तै गरेनन् । श्रेष्ठ पसलका प्रोपाइटर कविन्द्र श्रेष्ठले भन्नुभयो, आफूले प्रतिबोरा एकहजार ५० मा बिक्री गरेको दाबी गर्नुभएको छ । ‘सहकारीका सदस्यलाई एकहजार ५० मा र सहकारीभन्दा बाहिरकालाई एघारसयमा बेचेको हुँ’, श्रेष्ठले भन्नुभयो, ‘बढिमा बेचेको प्रमाण भेटेमा कारबाही भोग्न तयार छु ।’ उहाँले गोरखा नगरपालिका १० छेपेटारस्थित उपभोक्ता सहकारी जिल्ला संघसँग ९० बोरा युरिया मल किनेर ल्याएको जानकारी दिनुभयो ।
‘हामीले किन्दा प्रतिबोरा नौसय ५० रुपैयाँका दरले तिरेका हौं’, श्रेष्ठले भन्नुभयो, ‘लोड अनलोड, ढुवानी र नाफा जोड्दा सहकारीका सदस्यलाई हजार पचास, सदस्य बाहिरकालाई एघार सयमा बेचेको हुँ ।’ सोही ठाउँका अर्का व्यापारी माधव भट्टले भने प्रतिकिलो रु २५ मा बेच्ने गरेको दाबी गनुभएको छ । यसैबिच उनीहरु दुवैले सहकारी संस्थालाई थाहै नदिई स्थानीय विन्द्रावती कृषि सहकारीको नाममा बिल बनाएर मल ल्याएको खुलेको छ ।
कृषि सहकारी संस्था, वडा कार्यालय वा कृषि ज्ञानकेन्द्रको सिफारिसमा मात्र मल खरिद गर्नुपर्ने प्रावधान मिचेर सहकारी संस्था र वडा कार्यालयलाई जानकारी नै नदिई मल ल्याएर निर्धा्रित भन्दा बढि मूल्यमा मल बेचेका हुन् । ‘म सहकारी संस्थाका अध्यक्ष हुँ, तर मलाई थाह पत्तो छैन, यहाँ धमाधम सहकारीको नाममा मल ल्याएर मनोमानी मूल्यमा बेचेका रहेछन’, विन्द्रावती कृषि सहकारी संस्थाका अध्यक्ष शिव श्रेष्ठले भन्नुभयो ।
उपभोक्ता सहकारी जिल्ला संघका मल बिक्री गर्ने जिम्मेवारी सम्हालेका कर्मचारी विष्णु बगालेले भने लकडाउनका कारण सबै प्रक्रिया पूरा गर्न नसकेकाले बिनाकागजपत्र मल बिक्री गरेको गर्नुभयो । मलको कारोबार गर्ने दुवै पसलले कुनै सिफारिस नलगेको खुलासा भएको छ ।