धादिङ ५, चैत । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने चितवन र धादिङको सिमानमा पर्ने मौवा खोलामा पैदल हुदै घर हिडेका मजदुर र प्रहरी बिच तनाब बढेको छ । धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माण र गाउँमा पुनःनिर्माणका लागि आएका मजदूर हिडेरै भएपनि घरतर्फ जान प्रहरीले चितवन तर्फ प्रवेश गर्न नदिएपछि श्रमिक र प्रहरी बिच झडपको स्थिती सिर्जना भएको हो ।
श्रमिकहरुलाई मौवाखोला क्षेत्रका बजार क्षेत्रका बासिन्दाले समेत साथ दिएका थिए । बिहीबार बिहानैदेखि ३ सयभन्दा बढी मजदूर रोकिँदा उनीहरु दिनभर सो क्षेत्रमा भोकभोकै परेका थिए । यसरी मजदूर रोकिएपछि मौवाखोला बजारवासीले उनीहरुलाई हिँडेर घर जान दिन प्रहरीलाई आग्रह गरे पनि बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदूर मिलेर प्रहरीसँग झडपमा उत्रिएका थिए ।
कोभिड–१९ को महामारी रोक्न जारी गरिएको लकडाउन लम्बिएपछि पृथ्वी राजमार्ग हुँदै पैदलै घर हिँडेका मजदूर धादिङ र चितवनको सीमाना मौवाखोलामा रोकिएका छन् ।कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदूर काम नपाइएको र खानेकुरा पनि सकिएपछि हिँडेर घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सीमाना क्षेत्रमा रोकेको हो ।
घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ । वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ । एक जिल्लाबाट अर्को जिल्ला जानका लागि अतिआवश्यकीय सवारी साधनसमेत रोकिएपछि प्रमुख जिल्ला अधिकारीले वार्ताका माध्यमबाट समस्या समाधान गरेका हुन् ।