गोरखा २९, चैत । गोरखा अस्पतालमा आईसियू सेवा सञ्चालनमा ल्याईने भएको छ । कोरोना भाइरस ९ कोभिड १९० को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजरगरी गण्डकी प्रदेश सरकारले संघिय सरकारको सहयोगमा गोरखामा आईसीयू सेवा सञ्चालन गर्न लागिएको हो ।
आइसियू सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक करोड रुपैया बजेट बिनियोजन भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
‘बजेट प्राप्त भएपछि गोरखा अस्पतालले कोरोनाको सम्भावित संक्रमणलाई मध्यनजर गरी तत्काल सेवा सञ्चालन गर्न लागिएको छ, सूचना अधिकारी ढकालले भन्नुभयो, हामी फास्टट्रयाकबाट उपकरणहरु खरिद प्रक्रिया अघि बढाएर एकहप्ताभित्र सेवा सञ्चालनमा ल्याउने तयारीमा छौ ।’
अस्पतालले अहिले आवासका लागि प्रयोग भएको भवनमा आइसीयू कक्ष बनाउन लागिएको उहाँको भनाई छ । दुईवटा भेण्टिलेटर जडान गरी चार शैयाको आइएसीयू कक्ष बनाउने अस्पतालको योजना रहेको उहाँले बताउनुभयो ।
आइसीयू सञ्चालन भएपछि गम्भीर अबस्थाका बिरामीलाई पनि गोरखा अस्पतालमै उपचार गर्न सकिने सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।