काठमाण्डौ २७, चैत । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । पूर्वगोर्खा चेतप्रसाद गुरुङको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
५८ बर्षिय गुरुङ लामो समयदेखि बेलायत बस्दै आउनु भएको थियो । तमुधिँ लण्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका चेतप्रसाद गुरुङको मंगलबार साँझ लण्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।
तमुधिँ लण्डन ईकाईका पूर्वअध्यक्ष दीपक गुरुङले उहाँको निधन भएको जानकारी दिनुभयो । नेपालमा पर्वत स्थायी घर भएका समाजसेवी गुरुङ लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आउनु भएको थियो । उहाँ १४ दिनदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
यसअघि कोरोना संक्रमणका कारण बेलायतमा पूर्वगोर्खा सैनिक लीलाबहादुर राई र प्रशान्त अर्यालको निधन भइसकेको छ ।